मेरो बारे

Tuesday, September 4, 2018

संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा वृत्ति विकासको बाधक


संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा वृत्ति विकासको बाधक

मुलुकमा संघीयता कार्यान्वयनको चरणमा छ । राज्यका सबै संरचनालाई संघीय ढाँचामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा आवश्यक पर्ने ऐन कानुनहरू निर्माण तथा संशोधन गर्ने कार्यहरू पनि अघि बढिरहेको छ । केही पुराना ऐन कानुनहरूलाई पनि समयसापेक्ष र वैज्ञानिक बनाउन संशोधन तथा प्रतिस्थापन गर्ने प्रक्रिया पनि अगाडि बढिरहेकै छन् ।
यतिबेला निजामती सेवाको गठन, संचालन र सेवा सर्तसम्बन्धी कानुनी व्यवस्था गर्न बनेको ऐन पनि प्रतिस्थापनको चरणमा छ । निजामती सेवा ऐन, २०४९ लाई प्रतिस्थापन गरी बन्न लागेको संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदा अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच छलफल गरी मन्त्रिपरिषद्मा पठाइएको छ ।
निजामती सेवा ऐन २०४९ का विभिन्न प्रावधानलाई परिवर्तन गरी नयाँ ऐनको मस्यौदा तयार पारिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार परेको मस्यौदा विभिन्न मन्त्रालयहरूसँग भएको छलफलपश्चात केही परिवर्तन गरी मन्त्रिपरिषदमा पुगेको छ । यो ऐन जस्ताको तस्तै पारित भएको खण्डमा यसले निजामती सेवालाई नै गम्भीर असर पार्ने देखिन्छ ।
छड्के प्रवेश रोक्नु असान्दर्भिक
निजामती सेवाभन्दा बाहिर रहेका प्रतिभाहरूलाई आकर्षित गर्न विभिन्न प्रशासन सुधार आयोगहरूको सल्लाहबमोजिम निजामती सेवामा छड्के प्रवेशको प्रावधान राखिएको थियो । प्रस्तावित ऐनको मस्यौदामा भने यो प्रावधान हटाइएको छ । छड्के प्रवेशको प्रावधानले बहालवाला कर्मचारीले नै फाइदा लिएको, आफ्ना जिम्मेवारी पूरा नगरी परीक्षाको तयारीमा मात्र जुट्ने गरेको हुनाले कार्य सम्पादनमा नै असर पुर्‍याएकाले यो प्रावधान हटाउनु परेको अभिव्यक्ति विभिन्न जिम्मेवार व्यक्तिहरूबाटै बेला–बेला आउने गरेको छ । यदि यो कुरा सत्य नै हो भने पनि आफ्नो कार्य जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई ऐन कानुनको दायरामा ल्याएर कार्य जिम्मेवारी बोध गराउनुको सट्टा ‘न रहन्छ बाँस, न बज्छ बासुरी’ बनाउन यो प्रावधान नै हटाउनु आफैमा लज्जास्पद कार्य हो ।
ऐनको प्रावधानको उद्देश्य बमोजिमका जनशक्ति भित्र्याउन नसकेको कारणले पनि यो प्रावधान हटाउन लागिएको कुराहरू समेत बाहिर आइरहेका छन् । तर, बाहिरी क्षेत्रमा अनुभव हासिल गरेका जनशक्ति निजामती सेवामा भित्र्याउन नसक्नुमा निजामती सेवामा प्रदान गरिँदै आएको सेवा सुविधा आकर्षक नहुनु नै मुख्य जिम्मेवार पक्ष हो । तसर्थ, यो प्रावधान हटाउनुको सट्टा आकर्षक सेवा सुविधाको स्किम ल्याउनु उपयुक्त हुन्छ ।
लोक सेवा आयोगले लिने एकीकृत परीक्षा प्रणालीबाट समान किसिमको परीक्षा उत्तीर्ण गरेता पनि विभिन्न सेवा, समूहमा सिफारीस हुनुपरेको अवस्था छ । यो सबैको रुचि र रोजाईको विषय नहुन पनि सक्छ । यस्ता कर्मचारीहरूको रुचि क्षमतालाई कायम राख्न उनीहरूमा उत्प्रेरणा र वृत्तिविकासका उपयुक्त सम्भावना भएको खण्डमा मात्र उनीहरूले प्रभावकारी कार्य सम्पादन गर्न सक्छन् । छड्के प्रवेशको व्यवस्थाले यस्ता कर्मचारीहरूलाई माथिल्लो पदमा आफूले रोजेको सेवा समूहमा जाने बाटो खुला गरेको हुन्छ ।
अतः यो प्रावधान खारेज गर्नाले त्यस्ता कर्मचारीहरूमा नैराश्यता आउने र निजामती सेवाप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था आउने निश्चित छ ।
अबको बाटो
छड्के प्रवेशको प्रावधानलाई हटाउनुपर्ने कुनै वैज्ञानिक आधार छैन । यसले निजामती सेवामा साच्चै नकारात्मक असर पारेको छ त भन्ने विषयमा कुनै अध्ययन समेत भएको छैन । यसले कुनै नकारात्मक दुरगामी असर पर्ने पनि सम्भावना देखिँदैन ।
आफु यहि पद्दतिबाट माथि पुग्ने र तल रहेका प्रतिभाहरूको घाँटी निमोठ्ने सीमित व्यक्तिको स्वार्थले यो प्रावधान हटाउन लागिएको हुन सक्छ ।
प्रस्तावित संघीय निजामती सेवा ऐन, २०७५ मा समेत छड्के प्रवेशको व्यवस्था राख्नु सबैभन्दा बुद्धिमान कार्य हुनेछ । यसलाई हटाउनेभन्दा पनि यसको उद्देश्य बमोजिमका जनशक्ति निजामती सेवामा भित्र्याउन विभिन्न व्यवस्था गर्न सकिन्छ । अहिले भइरहेको न्युन तलबमानको अवस्था अन्त्य गरी जीवन निर्वाहमा सहजता ल्याउन सकेको खण्डमा मात्रै पनि विभिन्न क्षेत्रबाट निजामती सेवामा आउने व्यक्तिहरूको लर्को लाग्छ ।
केही विकल्प
प्रस्तावित मस्यौदाको दफा ८ को उपदफा ५ भएको अन्तर सेवा प्रतियोगिताको व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । अन्तर सेवा प्रतियोगितामा कर्मचारी समायोजन ऐन २०७४ बमोजिम समायोजन भएका, प्रदेश निजामती सेवा र स्थानीय सेवाबीच मात्र प्रतिस्पर्धा नगराई संघीय निजामती सेवाका विभिन्न सेवा समूहहरूले पनि अन्य सेवा समूहमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिनुपर्छ । त्यसो भएको खण्डमा प्रतिस्पर्धाको दायरा फराकिलो हुने तथा एकीकृत व्यवस्थाबाट आफू अनुकूलको सेवा समूहमा सिफारिस हुन नपाएकाहरूका लागि अन्य सेवा समूहमा जान पाउने अवसरको सिर्जना गर्छ । भनिन्छ– काममा विविधता तथा कार्य सम्पादनमा दक्षता नै निजामती सेवाको सुन्दर पक्ष हो र हुनपर्छ ।
भाद्र १८ गते, २०७५ - १३ः१६ प्रकाशित

Wednesday, August 22, 2018

लोकसेवाको तयारीले दोहोरो सफलता

देशमा शैक्षिक बेरोजगारीको संख्या बढेको बढ्यै छ। विकराल बन्दै गएको यो समस्याका कारण निजामती सेवातर्फ पनि शैक्षिक बेरोजगारको आकर्षण बढ्दो छ। लोकसेवा आयोगको विश्वसनियता, पारदर्शी परीक्षा प्रणाली वार्षिक कार्यतालिका अनुसार समयमा परीक्षा सञ्चालन आदि कारणले आयोगले सञ्चालन गर्ने परीक्षाको तयारीमा जुट्नेको संख्या उल्लेखनीय छ। पछिल्ला दिनमा आयोगमा परेका दरखास्तले समेत यो कुरा पुष्टि गर्छ।
लोकसेवा आयोगको परीक्षा तयारी गर्ने रहर, योग्यता र क्षमता हुँदाहुँदै पनि अध्ययन गर्ने सही तरिका नजान्दा धेरैजना अन्योलमा हुन्छन्। अध्ययन गर्ने उचित सामग्री छनोट, समय व्यवस्थापन र नियमित अध्ययनले यस्ता अन्योलता सहजै व्यवस्थापन गर्न सक्छ।
नियमित अध्ययन
लोकसेवा आयोगले दरखास्त आह्वान गरेपछि मात्रै परीक्षाको तयारीमा जुट्ने प्रवृत्ति फलदायी हुँदैन। यस्तो बानीले पाठ्यक्रममा तोकिएका विषयवस्तुको अध्ययन र समय व्यवस्थापन गर्न कठिनाइ हुन्छ। आयोगले दरखास्त खोल्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन र सिफारिस गर्ने कार्य नियमित रूपमा गरिरहेको हुन्छ। आयोगले यी सबै कार्य वार्षिक कार्यतालिका निर्माण गरी सोहीबमोजिम गर्ने गरेको छ।
यसबाट कुन सेवा समूहमा कुन पदको दरखास्त कहिले खुल्छ र परीक्षा कहिले सञ्चालन हुन्छ भन्नेबारे वार्षिक कार्यतालिका अध्ययन गरी सहजै अनुमान गर्न सकिन्छ। त्यसैले, आफूले लक्षित गरेको पदको परीक्षाको तयारी गर्दा पर्याप्त समय राखेर सुरु गर्नुपर्छ। आफूले अध्ययन गरेको विषयको विश्लेषण र मनन् गर्ने बानीले सिर्जनात्मक क्षमता बढ्छ।
सामग्री संकलन
बजारमा लोकसेवा आयोगको परीक्षा तयारीका लागि विभिन्न सहयोगी पुस्तक पाइन्छन्। तीमध्ये आफूले तयारी गर्न लागेको सेवा समूहको पदको पाठ्यक्रमलाई समेट्ने किसिमको कुनै पुस्तक छनोट गर्नुपर्छ। सबै पुस्तक राम्रा हुन्छन् भन्ने हुँदैन। पुस्तक छनोट गर्दा त्यसमा सबैभन्दा पहिला पाठ्यक्रमलाई कसरी समेटेको छ भन्ने विषयमा विचार गर्नुपर्छ। पुस्तकमा समेटिएको विषयवस्तुको सिलसिला र गहनता आदिबाट त्यो पुस्तक कस्तो हो भनेर छुट्याउन सहज हुन्छ। यसमा समेटिएका तथ्यांक अध्यावधिक छन् या छैनन् भन्ने कुरामा ध्यान दिन जरुरी छ।
पाठ्यक्रमले समेटेका विषयलाई तुलनात्मक अध्ययन गरी तयारी गरेको खण्डमा एउटै तयारीले विभिन्न परीक्षामा सहभागी हुन र सफलता पाउन सकिन्छ।
छनोट गरिएको पुस्तकलाई बेस बुक बनाएर पाठ्यक्रमलाई थप सहयोग गर्ने अन्य स्रोत सामग्री संकलन गर्न सकिन्छ। यसका लागि विभिन्न लेखरचना, पत्रपत्रिका अनलाइन सामग्री, वेबपेज आदि हुन सक्छ। यसबाट प्राप्त सामग्री टिपोट गरी पाठ्यक्रमको फ्रेमवर्कभित्र समेट्नु पर्छ। परीक्षाको तयारी गर्दा आफूलाई सधैं अध्यावधिक राख्नुपर्ने हुन्छ। यसका लागि विस्तृत अध्ययन चाहिन्छ।
पाठ्यक्रममा समानता
निजामती सेवाका विभिन्न सेवा समूहका विभिन्न पदको पाठ्यक्रम तयार गर्नेदेखि परीक्षा सञ्चालन गर्नेसम्मको काम लोकसेवा आयोगले गरी आफ्नो संवैधानिक दायित्व पूरा गरेको छ। यसका अतिरिक्त विभिन्न सुरक्षा निकाय र नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानको पनि परीक्षा सञ्चालन गर्छ। यद्यपि यिनीहरूको परीक्षाको पाठ्यक्रम तयार पार्ने काम भने सम्बन्धित निकायले नै गर्छ।
लोकसेवा आयोगले तयार पारेको विभिन्न अप्राविधिक पदहरूको पाठ्यक्रमलाई हेर्ने हो भने धेरै हदसम्म समानता रहेको छ। यसकारण एउटा परीक्षाको तयारी गर्दागर्दै अन्य विभिन्न पदका परीक्षामा पनि सहभागी हुन र सफलता पाउन सकिन्छ। लोकसेवाले प्रकाशित गरेको विभिन्न पदको लिखित परीक्षामा एउटै व्यक्तिले धेरैतिर नाम निकाल्ने गरेको उदाहरण धेरै छन्।
न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् (एकीकृत र संयुक्त) सेवाको खरिदार, नायब सुब्बा र शाखा अधिकृत पदको वस्तुगत प्रथमपत्र सामान्य ज्ञानको पाठ्यक्रमलाई लिन सकिन्छ। खरिदार पदको पाठ्यक्रममा समेटिएको भौगोलिक अध्ययन, ऐतिहासिक अध्ययन, नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, पर्यावरण र जैविक विविधता, अन्तर्राष्ट्रिय सम्बन्ध, संघसंस्था, राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न समसामयिक विषय हुन्छ। यसमा गरिएको अध्ययनले नायब सुब्बा र शाखा अधिकृत पदको परीक्षाको तयारीमा समेत सहयोग पुग्छ। सोही पत्रमा समेटिएको बौद्धिक परीक्षणको पाठ्यक्रमसमेत तीनवटै पदमा समानता रहेको पाउन सकिन्छ।
विषयगततर्फ तुलना गर्दा खरिदारको तृतीय पत्र (सामाजिक अध्ययन तथा कार्यालय सञ्चालन) र नायब सुब्बा द्वितीय पत्र (सामाजिक आर्थिक अवस्था) को पाठ्यक्रमसमेत धेरै हदसम्म समान रहेको छ। निजामती सेवा, लेखा र लेखापरीक्षणसँग सम्बन्धित विषयले तीनवटै पदलाई समेटको पाइन्छ।
त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थातर्फको पाठ्यक्रममा पनि केही समानता पाइन्छ। यसरी सबै पाठ्यक्रमले समेटेका विषयलाई तुलनात्मक अध्ययन गरी तयारी गरेको खण्डमा एउटै तयारीले आफूले चाहेको विभिन्न परीक्षामा सफलता हासिल गर्न सकिन्छ।
नेपालको संविधान, आवधिक योजनाहरू, बजेटसम्बन्धी तथ्यांक, निजामती सेवा ऐन तथा नियमावलीहरूले सबै पदको पाठ्यक्रमलाई छोएको हुन्छ। जति माथिल्लो पदको तयारी गरिन्छ, उति नै अध्ययनको दायरा विस्तार गर्दै जानुपर्छ। लेखन शैली र प्रस्तुतीकरण सीपको निखारताले सफलता हात पार्न सहयोग हुन्छ।
भनिन्छ, लोकसेवा आयोगको परीक्षा पास गर्न हार्ड स्टडीभन्दा पनि स्मार्ट स्टडीको आवश्यकता पर्छ। यसका लागि आफू अनुकूल पढ्ने र सम्झने शैलीको विकास गर्नुपर्छ। एउटै विषयको धेरै ज्ञानभन्दा पनि धेरै विषयमा आवश्यक अलिअलि ज्ञान हुनेले नै लोकसेवा पास गर्न सजिलो हुन्छ। (मिति २०७५ भाद्र ४ गते, सोमबारको अन्नपूर्ण पोस्टमा प्रकाशित)